संस्थाको परिचय

प्राकृतिक शक्तिहरुको चलन पूजा गर्ने आर्य संस्कृतिमा रहेछ । पूजा संस्कृतिले देवी देवताको मात्रै पूजा गर्न सिकाएन, पूर्वजहरुको पनि पूजा गर्न सिकायो । यही क्रममा सबै गोत्र र थरका समुदायले कुल पूजा गर्ने प्रचलन स्थापित भयो । कृषि पेसा सुरू हुनु भन्दा अगाडि पशुपालन युगमा सबै पूजनीय शक्तिलाई खुशी पार्न पशुवलि दिने पनि प्रचलन बन्यो । ठूला पहरा, रुख ,ढुङ्गा जस्ता ठाउँमध्ये अनुकूल स्थान छनौट गरी कुल देवता स्थापना गर्ने र वलि दिएर पूजा गर्ने चलन चल्न थाल्यो । बसाइँ सराईको क्रममा कुलादेवताको रुपमा शिला र दियो लिएर सर्ने पनि चलन चल्न थाल्यो ।

देशका विभिन्न ठाउँमा बसाइँ सराई गरेका सापकोटाहरुले आ–आफ्ना ठाउँमा पूजा गर्ने क्रममा दमेकबाट गैँडाकोट आएका लक्ष्मीदत्त, भूमीश्वर, भवानीशंकर लगायतका सापकोटाहरुले २०३३ सालदेखि गैँडाकोटमा पूजा गर्न थाले, २०३८ सालतिर मन्दिर बनाए, अहिले २ कठ्ठा १० धुर जग्गामा व्यवस्थित प्रतिष्ठान बनेको छ । बागलुङबाट आएका लक्ष्मीपति (धामी) र स्व.बलिभद्र (जिम्माल) लगायतका कौडिन्य गोत्रीय सापकोटाहरुले भरतपुरमा कुलपूजा सुरू गरे । पछि २०३५।३६ मा गौरीगंजमा कुलदेवता पूजा गर्न थाले । चेतनामा आएको परिवर्तनसँगै वलि दिने कि नदिने भन्ने छलफल हुन थाल्यो र २०५१ जेठ ११ को चण्डी पूर्णिमादेखि वलि प्रथा अन्त्य गर्ने निर्णय भयो । यसै दिन उपस्थित भेलाले विधिवत् निर्णय गरी प्रकाशराज सापकोटाको संयोजकत्वमा "सापकोटा कुलपूजा सेवा तदर्थ समिति" गठन गर्यो । भेलालाई सम्बोधन, परामर्श दिने काममा कृष्णलाल, अभिलेखन गर्ने तथा कोष बनाउन प्रारम्भ गर्ने खडानन्द, उपेन्द्र, कानूनी परामर्श र विधान तयार गर्ने काममा एकनारायण, सुरेन्द्र निर्माण कार्यमा केशवराज, दधिराम, सङ्गठन विस्तारमा राजेन्द्र प्र., ठाकुर लगायतका बन्धुहरुको भूमिका रह्यो ।

समय क्रममा संस्थागत स्वरुप ग्रहण गर्दै २०५५ साल श्रावण २२ गते "सापकोटा कल्याण केन्द्र" दर्ता (द.न.०५।२०५५।५६) भयो । विकासको अर्को मोडमा २०५७।०१।१८ गते देवघाट देवपुरमा जग्गा खरिद गरी "सापकोटा कल्याण केन्द्र कौडिन्य ऋषि आश्रम" स्थापना गर्ने निर्णय भयो । २०५७ असार २ गते चण्डी पूर्णिमाको दिनमा बाग्लुङ्गबाट ल्याइएको चितवन गौरीगन्जमा रहेका कुल देवताका प्रतिक शिला र दियोलाई देवघाट देवपुरको सालको फेदमा विधिवत् बाजागाजासहित स्थानान्तरण गरेर देवघाटमा कुलपुजाको थालनी गरियो । २०५८ र ०५९ मा मन्दिर निर्माण भयो । माया सापकोटाले खानेपानी ट्याङ्की तथा धारा बनाइदिनुभयो । डा.सुन्दरमणि दीक्षित (आचार्य) कौडिन्य गोत्रीय हुनुको नाताले २०६३ सालमा ५ लाख बढीको जमिन र चार लाख पचास हजारको छात्रवृत्ति अक्षय कोष खडा गरिदिनु भएको थियो । हाल यो अक्षय कोष ८ लाख पचास हजारको छ । हालसम्म पाँच हजार भन्दा बढी सापकोटा बन्धुहरुले आ–आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरिसक्नुभएको छ । १००० भन्दा बढीले पटक–पटक सहयोग गर्दै आउनुभएको छ । दर्जन भन्दा बढीले तुलादान गर्नु भएको छ । एवं रीतले यो स्थान कौडिन्य गोत्रीय सापकोटाहरु र अरुको लागि समेत उदाहरणीय र प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बनेको छ ।

संस्थाको दर्ता तथा जिल्ला समितिहरु

संस्था दर्ता नं. ०५।२०५५।२०५६ जिल्ला प्रशासन कार्यालय, चितवन, दर्ता मिति २०५५।०४।२२ मा यो संस्था केन्द्रीय समितिको रुपमा यहाँ दर्ता छ भने काठमाडौँमा पनि यसै गरी दर्ता भएको पाएपछि आपसी सल्लाहबाट एउटा बनाउने निर्णय भएको छ । नेपालका ५८ जिल्लाहरुमा सापकोटा कल्याण केन्द्रका बैधानिक तथा तदर्थ समितिहरु बनेका छन् ।

आश्रम तथा केन्द्रीय कार्यालय

सापकोटा कल्याण केन्द्र – नेपाल कौडिन्य ऋषि आश्रम, देवघाटधाम, तनहूँ चितवनको मुटु नारायणगढदेखि ५ कि.मि.को दूरीमा प्रसिद्ध मुक्तिनाथ धामलाई मुहान बनाई भगवान् शालिग्रामलाई बोक्दै हिँडेकी कालीगण्की नदीलाई दाहिने राखी दक्षिणतर्फ त्रिशुली नदी र कालिगण्कीको मनोरम सङ्गम स्थल तथा प्रसिद्ध हरिहर आश्रम, गलेश्वर आश्रम, महेश आश्रम, इन्दिरा आश्रम, सीता गुफा र प्राचीन तथा ऐतिहासिक महत्व बोकेका स्थलहरुको संरक्षणमा लागेका धार्मिक तथा आधात्मिक संस्थाहरुको नजिकमा अवस्थित यस केन्द्रको आश्रम परिसर निकै मनोमोहक, प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस केन्द्रको आश्रम परिसरमा जो कोहीलाई पनि एक पटक पुगेपछि साच्चिकै शान्ति र आनन्दको अनुभुति हुन्छ ।

संस्थाका मुख्य उद्देश्यहरू

१) छरिएर रहेका सापकोटा बन्धुहरुको सम्पर्क र समन्वय गरी भ्रातृत्व अभिवृद्धि गर्ने ।

२) आफ्ना पूर्वजहरुको अध्ययन अनुसन्धान गरी वंशावली सङ्कलन तथा प्रकाशन गर्ने तथा अद्यावधिक गर्दै जाने । साथै स्थायी प्रकृतिको अध्ययन–अनुसन्धान केन्द्र र सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने ।

३) परम्परागत रुपमा चलिआएको कुलपूजा, धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षण गर्दै तदनुकूलका मठ, मन्दिर, कुण्ड, प्रवचन कक्ष आदि निर्माण गर्ने । यसको नाममा भएको जग्गाको संरक्षण र अधिकतम उपलब्धि हुनेगरी सदुपयोग गर्ने ।

४) स्थानीय तहसँग समेत समन्वय गरी मनोरम पार्क, अतिथि गृह, जेष्ठ नागरिक आश्रम, गौपालन आदि सामाजिक आर्थिक र पर्यटन विकाससँग सम्बन्धित काम गर्ने ।

५) आश्रम रहेको स्थानको स्थानीय समुदाय र कौडिन्य गैत्रीय सापकोटा बन्धुहरुको शिक्षा, स्वास्थ, सामाजिक सांस्कृतिक सुधार जस्ता कार्यमा मद्दत पुर्याउने आदि ।

संस्थाको हालसम्मको कार्यकाल

क्र.सं. .....देखि ........सम्म अध्यक्ष महासचिव सचिव
१. २०५१।२।११–२०५३।२।२१ प्रकाशराज खडानन्द कृष्णप्रसाद
२. २०५३।२।२१–२०५५।१।२८ गंगाधर खडानन्द राजेन्द्र प्र.
३. २०५५।१।२८–२०५७।३।२ मोतीलाल खडानन्द नरेन्द्र
४. २०५७।३।२–२०६०।८।२२ दधिराम खडानन्द राजेन्द्र प्र.
५. २०६०।८।२२–२०६४।२।२६ केशवराज खडानन्द राजेन्द्र प्र.
६. २०६४।२।२६–२०६७ खडानन्द ठाकुरप्रसाद शेषराज
७. २०६६।११।१२–२०७० खडानन्द शेषराज राजेन्द्र प्र.
८. २०७१।१२।९–२०७३ उपेन्द्र टीकाराम टीकाराम
९. २०७३।२।८– राजेन्द्र प्र. गोविन्दप्रसाद लोकनाथ

संस्थाको सदस्यता

सापकोटा कुलमा जन्मिएका १६ वर्ष पुगेका कुनै पनि नेपाली नागरिकले तोकिएको शुल्क तिरी संस्थाको सदस्य बन्न सक्नेछन् । सदस्यको प्रकार र २०७४ कार्तिक मसान्तसम्मको सदस्य संख्या यसप्रकार छ :

क्र.सं. सदस्यको प्रकार सदस्यता शुल्क रू सदस्य संख्या
१. संस्थापक सदस्य २१,१११ ६७
२. आजीवन सदस्य ५००० ७५१
३ . विशिष्ट सदस्य २१,१११ ८५
४. विशिष्ट आजीवन सदस्य ५०,००० १०
५. दानवीर आजीवन सदस्य १,११,१११ २६
६. सम्मानार्थ सदस्य २,००,०००
७. विशिष्ट सम्मानार्थ सदस्य ५,००,०००

स्पष्टताको लागिः सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रमलाई ५ लाखभन्दा बढीको नगद तथा जिन्सी सहयोग पुर्याउने सापकोटाभन्दा अन्य थर गोत्रका व्यक्तिलाई समेत निजको माग र संस्थाको निर्णय अनुसार विशिष्ट सम्मानार्थ सदस्य र मानार्थ सदस्य प्रदान गर्न सकिनेछ । हालसम्म विशिष्ट सम्मानार्थ सदस्यमा श्री गुणाखर सापकोटा (रु. २२,२५,०००।–), डा. सुन्दरमणि+रेवामणि आचार्य दीक्षित (रु. ११,११,१११।–), श्री डण्डस्वामी सोमाश्रम सापकोटा (रु. ११,००,०००।–), श्री खडानन्द+कलादेवी सापकोटा (रु. ५,७६,३२५।–) हुनुहुन्छ ।

भौतिक व्यवस्थापन

क) जमिन – २०५७।०१।१७ मा पहिलो पटक ५ रोपनी ७ आना जग्गा खरिद गरेकोमा पटक पटक गरी खरिद भएको जमिन ४८ रोपनी ९ आना डा. सुन्दरमणि दीक्षितले आश्रमलाई निःशुल्क हस्तान्तरण गर्नु भएको जमिन ३ रोपनी ३ आना समेत गरी जम्मा ५२ रोपनी क्षेत्रफल भएको दुई कित्ता जमिन अहिले आश्रमको नाममा छ ।

ख) भौतिक संरचनाहरु : मन्दिर, सभाहल, कार्यालय र आवास गृह, गाई गोठ, पानी ट्याड्ढी, शौचालयहरु, पक्की पर्खाल र तारबार ।

मुठीदान कार्यक्रम र यसको प्रभाव

भनिन्छ कि द्वापरयुगीन हाम्रा पूर्खा एवं महर्षि कौडिन्य ऋषि महादानी थिए । आवश्यक भन्दा बढी अन्न, सम्पत्ति जम्मा गर्नु पाप हो भन्दथे । सोही भावनालाई सम्मान गर्दै एक मुठी कम खाएर, वंशजको नाममा भावी पुस्ताको लागि योगदान गर्ने मूल उद्देश्यका साथ मुठीदानको संस्कृति निर्माण गर्ने प्रयास गरियो । हालसम्म यसका सदस्यहरुबाट विभिन्न जिल्लामा नगद र जिन्सी जम्मा हुँदै आएको छ । सजिलोको लागि न्यूनतम वार्षिक रू.५०० मुठीदानको रुपमा स्वीकार गर्दै आइएको छ । नियमित पूजा सामग्री व्यवस्था गर्न तथा संस्थाका कुनै पनि योजना कार्यान्वयन गर्न यो रकमको सदुपयोग हुन्छ ।

उद्देश्यअनुसारका भावी योजनाहरू

१) प्रवेशमार्ग र प्रवेशद्वार निर्माण

२) अतिथिगृह निर्माण

३) सापकोटा ज्येष्ठ नागरिक आश्रम

४) आधुनिक मनोरम पार्क

५) पुस्तकालय, सङ्ग्रहालय सहितको अनुसन्धान केन्द्र

मानिसका चार ऋण

१) देवऋण: यज्ञ गर्नाले देव ऋणबाट मुक्ति मिल्दछ ।

२) पितृऋण: बाँचुन्जेल पूर्वजप्रति श्रद्धा र देहान्त पछि श्रद्धाञ्जलि, श्राद्ध गर्नु र कूल पूजा गर्नु, पूर्वजको स्मरण गर्नाले पितृऋणबाट मुक्ति पाइन्छ ।

३) ऋषिऋण: अध्ययन गर्नु, सिक्नु, हरेक कुरामा प्रश्न राख्नु, सिकेको ज्ञान अनुभव हस्तान्तरण गर्नु पनि मानवको कर्तव्य हुन्छ । यसबाट ऋषिऋण चुक्ता हुन्छ ।

४) भूत र भू–धरातलीय ऋण: दान, दया, माया, संरक्षण, योगदानबाट भू–ऋण तिरिन्छ ।

सम्पूर्ण बन्धुहरुमा सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम, देवघाटधाम, तनहूँसँग भौतिक, आध्यात्मिक र विधानसम्मत रुपले जोडिन आग्रह गर्दै आफ्नो जीवनलाई सार्थक बनाउन पूर्वजको आशीर्वाद र प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ । जय कौडिन्य ऋषि !! जय सापकोटा पूर्वजहरु !!

कार्यक्रमहरु

नियमित पर्वहरु

  • हामीले नियमित रुपमा मनाउने गरेका यी पर्वहरुमा यहाँको उपस्थिति प्रार्थनीय छ ।

    साथै कुनै पनि श्रदालु भक्तजनले चौरासी पुजन, ब्रतबन्ध, रुद्री, श्राद्द कर्म, बिबाह, भण्डार एबम अन्य पाठपुजा आदि उत्सबहरु व्यक्तिगतरुपमा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको छ ।

  • हरेक सोमबार बिहान ११ बजे
    भजन किर्तन
  • बैशाख शुक्लपक्ष
    चण्डी पुर्णिमा, कुलपूजा
  • जेठ शुक्लपक्ष
    गौडी पुर्णिमा
  • श्रावण अन्तिम सोमबार
    श्रावणी रुद्री र साधारण सभा
  • आश्विन शुक्ल पंचमी
    विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान
  • मार्ग शुक्ल पक्ष
    धान्य पुर्णिमा
  • माघेसंक्रान्ति
    देवघाट मेला
  • फाल्गुन शुक्ल दशमी
    संस्थाको वार्षिकोत्सव

सम्पर्क

Contact us for more information or donations.
सापकोटा कल्याण केन्द्र नेपाल
कौडिन्य ऋषि आश्रम,
देवघाटधाम, तनहूँ
फोनः ०५६-६९१५७६

सम्पर्क कार्यालय:
भरतपुर महानगरपालिका - १०
मालिका मन्दिर, हाकिम चोक, चितवन
फोन: ०५६- ६२१४३०
फ्याक्स: ०५६-५३०५३२
अध्यक्ष: ९८५५०६५३१४
इमेल : info@sapkotakalyankendra.org

फेसबुकमा फलो गर्नुहोस्

Follow Us on Facebook
संस्थाका कार्यक्रमहरु तथा विभिन्न गतिविधिहरुको ताजा जानकारी हाम्रो फेसबुक पेज मार्फत जानकारी गर्ने गरि व्यवस्था गरिएको हुनाले सम्पूर्ण सापकोटा बन्धुहरुलाई हामीसंग फेसबुकमा जोडिन आग्रह गर्दछौं ।